फाइल तस्वीर
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लहानस्थित नापी कार्यालयमा करारमा कार्यरत अमिन दिपरञ्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गाधनि पूर्जा बनाउने क्रममा सेवाग्राहीसँग १० हजार घुस लिइसकेको अभियोगमा आयोगले मुद्दा दायर गरेको हो ।

सेवाग्राहीबाट घुस लिएको अभियोगमा गत भदौ ६ गते आयोगले यादवलाई नियन्त्रणमा लिएको थियो । सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरी निवेलनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिइ गएको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता भोला दाहालले यादवले सेवाग्राहीसँग घुस लिई भ्रष्टाचार निवारण एने अन्तर्गत कसुर गरेको पुष्टि भएको र यादवविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।

प्रवक्ता दाहालका अनुसार बिगो १० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को देहाय (क) बमोजिम कैद सजाय गरी सोही एनेको दफा ३ को उपदफा १ अनुसार बिगो बमोजिम जरिवानाको सजाय हुन मागदावी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।