फाइल तस्वीर


काठमाडौँ – आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबीच वार्ता भैरहेको छ । हेटौँडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र सरकारले गठन गरेको वार्ता टोलीबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा वार्ता सुरु भएको हो ।

मन्त्रालयमा जारी वार्तामा चिकित्सक सङ्घका प्रतिनिधिहरुले हेटौँडामा चिकित्सकमाथि कुटपिट गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन् । भदौ २७ गते हेटौँडास्थित सञ्चो अस्पतालका चिकित्सकद्वय डा.प्रशान्त बिडारी र डा.विकास थापा माथि बिरामीको उपचार गरिरहेकै अवस्थामा अस्पतालमै हातपात भएको थियो ।

कार्यक्षेत्रमा काम गरिरहेका चिकित्सकमाथि कुटपिट गरेको भन्दै नेपाल चिकित्सक सङ्घले पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा थिए । सङघले आज आइतबारदेखि आकस्मिक सेवा बाहेक सबैसेवा बन्द गर्ने घोषणा गरेका थियो । चिकित्सकमाथि भएको कुटपिटको छानविन गरी तत्काल कारवाही गर्न सङ्घले माग गर्दै आन्दोलनमा उत्रिएपछि सरकारले स्वास्थ्य तथा जनसङ्या मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्कीले चिकित्सकमाथि कुटपिट गर्नेलाई पक्रिने सुनिश्चितता नहुँदासम्म देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द रहने बताएसँगै देशभरका स्वास्थ्य संस्थाका आकस्मिक सेवा बाहेक ओपिडी सेवा बन्द भएका छन् । सरकार र सङ्घको वार्ताटोलीबीच वार्ता जारी छ ।