फाइल तस्वीर: पूर्वप्रधानमन्त्री झलनाथ खनाल ।


काठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको विकासका लागि समाजवादी व्यवस्था आवश्यक रहेको बताउनुभएको छ । समाजवादी सहकारी सङ्गठनको प्रथम स्थापना दिवसका अवसरमा आज पूर्वप्रधानमन्त्री खनालले सबै समस्याको समाधानका लागि समाजवाद निर्विकल्प भएकाले समाजवादकै बाटोमा जानुपर्ने बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री खनालले सामाजिक न्याय तथा सुशासन कायम गर्न समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिँदै राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी, समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार न्यूनीकरणका लागि सबै राजनीतिक दलको साझा दृष्टिकोणको आवश्यक रहेको बताउनुभयो ।

एकीकृत समाजवादीका नेता खनालले संविधान र गणतन्त्र रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सामाजिक न्याय, समानतासहितको आत्मनिर्भर अर्थतन्त्रका लागि समाजवादी अर्थव्यवस्था महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।