तस्वीरः प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठक ।


काठमाडौं — मन्त्रिपरिषद्को बैठकले नेपाल नागरिकता (तेस्रो संशोधन), २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को आजैको बैठकले संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण स्थगित गर्नेदेखि चिनी आयात गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले सिंचाई नीति, २०८० स्वीकृत गरेको छ भने खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनलाई ५० प्रतिशत भन्सार महसुल छूट गरी १०/१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ । विगतमा चिनी आयात र वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनलाई पछिल्लो तीन वर्षदेखि चिनी आयातमा रोक लगाइएकोमा मन्त्रिपरिषद्को बैठकले चिनी आयात गर्न अनुमति दिने निर्णय गरेको छ ।

यसैगरी कर प्रणालीको सुधारका लागि पूर्वसचिव विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ भने विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडित जनताको न्यायिक समस्या स्थायीरुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय पनि आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।