तस्वीरः नेपाली काङ्ग्रेस पोखरा महानगर समितिको दोस्रो महानगर सम्मेलन ।


पोखरा — सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी काङ्ग्रेस भए पनि राजनीतिक व्यवस्थापन गर्दा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री स्वीकार गर्दा काङग्रेसका कार्यकर्ताले चित्त दुखाउन नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस पोखरा महानगर समितिको दोस्रो महानगर सम्मेलनलाई आज बुधबार पोखरामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

महामन्त्री थापाले नेपाली काङग्रेस लोकतान्त्रिक र प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी भएकाले द्वन्द्वमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशको समृद्धितर्फ अगाडि बढिरहेको बताउनुभएको छ ।

देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी नेपाली काङ्ग्रेस भए पनि राजनीतिक व्यवस्थापन गर्दा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री स्वीकार गरिएको उहाँले बताउनुभयो ।

महामन्त्री थापाले भन्नुभयो — “काङ्ग्रेस सबैको हित चाहने पार्टी हो, काङ्ग्रेस आम जनताको सुख दुःखमा साथ दिने पार्टी नै हो” भन्नुहुँदै नेता थापाले भन्नुभयो, “जनताको भरविश्वास पनि कांग्रेस पार्टीमा रहेकाले नयाँ उम्रेका पीपलपाते पार्टी क्षणिकका लागि मात्र हुन् ।”

मिसन २०८४ मा पनि नै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै कार्यकर्तालाई विचलित नहुन उहाँले आग्रह गर्र्नुभयो । “नेपाली कांग्रेस सीमित व्यक्ति मात्र नभई सबै जनता धनी भएको देख्न चाहन्छ, महामानव वीपीको सिद्धान्त पनि जनता धनी हुन् भन्ने नै थियो”, उहाँले भन्नुभयो ।

काङ्ग्रेस भ्रष्टाचार विरोधी अभियानमा रहेको भन्दै उहाँले भ्रष्टाचारमा लाग्ने आफ्नै नेता तथा कार्यकर्तालाई पनि जोगाउने पक्षमा पार्टी नरहेको स्पष्ट गर्नुभयो । कांग्रेसलले नेपालमा पहिचानको मुद्दा ७० वर्ष पहिला नै उठाएकाले काङ्ग्रेसभन्दा क्रान्तिकारी पार्टी अरु कुनै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री थापाले नेपालको विविधतालाई कुनै हालतमा मास्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“नेपाली कांग्रेस छिमेकी देश भारत र चीनको सम्बन्ध सन्तुलित राख्न चाहन्छ, सानो मुलुक उनीहरूसँग विवाद गर्न चाहँदैन, र गर्न पनि सक्दैन”, उहाँले भन्नुभयो, “नेपाल जुनसुकै देशमा पनि शान्ति स्थापना होस् भन्ने पक्षमा छ ।”