फाइल तस्वीर: एमाले का अध्यक्ष खड्गप्रसाद शर्मा ओली ।


काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहन गरेको आरोप लगाउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा तेजावविरुद्ध आयोजित कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल संसदीय दलका नेता समेत रहनुभएका अध्यक्ष ओली यस्तो आरोप लगाउनुभएको हो ।

काङग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि हालै भएको खुकुरी प्रहारको घटना र ताप्लेजुङमा डिएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले उल्टै आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको एमाले अध्यक्ष ओलीले बताउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले आतङ्ककारीहरुलाई, असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानूनी क्रियाकलापमा साथ दिन्न भनेर डिएसपी राजन राईले भनेपछि त्यसलाई सहन नसकेर उनी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिनेहरुलाई सरकारले पक्राउ नगरी संरक्षण गरेको दावी गर्नुभयो ।

अध्यक्ष ओलीले उक्त कार्यक्रममा बोल्दै एक हप्ताअघि नै खुकुरी हान्छु भन्नेलाई सरकारले नियन्त्रणमा नलिँदा काङ्ग्रेस कै नेतामाथि खुकुरी प्रहार भएको घटनामा सरकार उदासिनता भएको भन्दै आलोचना गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले समाजमा तेजाव आक्रमणका घटनाहरु बढ्न सक्ने देखिएकोले सोकाविरुद्ध कडा कानून निर्माण गर्नुपरेको स्मरण गराउनुभएको थियो । कुनै पनि जधन्य अपराध गरेकाहरुलाई सरकारले उन्मुक्ति दिन नहुने उहाँको भनाइ थियो ।