फाइल तस्वीरः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती ।

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदैआएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने काम भएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । ‘नेपालका बौद्ध तीर्थस्थलहरु’ शीर्षक पुस्तकको आज यहाँ लोकार्पण गर्दै मन्त्री किरातीले यस्तो खुलासा गर्नु भएको हो ।

मन्त्री किरातीले आफुलाई दवाव आए पनि मुलुकलाई धोका दिने काम नगर्ने बरु राजिनामा गर्ने बताउनुभयो । “पटक पटकको घेराबन्दी तोड्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व विगतमा युद्ध लड्नका लागि मात्र हैन अहिले मुलुकका लागि समृद्धि हासिल गर्न पनि त्यतिकै आवश्यक छ,” उहाँले थप्नुभयो ।

पुस्तकका लेखक तथा सम्पादक गेशे थुब्तेन शेराब हुनुहन्छ । बुद्धसँग सम्बन्धित तीर्थस्थलहरु, बोधिसत्वसँग सम्बन्धित तीर्थस्थलहरु र बज्रयान सम्बन्धित तीर्थस्थलहरु गरी तीन खण्डमा विभाजित उक्त पुस्तक अनुसन्धान केन्द्र, लुम्बिनी बौद्ध विश्वविद्यालय, पर्सा र नेपाल बौद्ध महायान केन्द्र गुम्बा, कपनले प्रकाशन गरेको हो ।

नेपाली तथा तिब्बती भाषामा निकालिएका दुबै प्रति पुस्तकको थेरवाद, महायान र बज्रयानका धर्मगुरुहरुको उपस्थितिमा लोकार्पण गरिएको हो । गुरु लोसाङ नाम्ग्याल रिम्पोछेको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रो. सुमन्तराज न्यौपाने तथा इन्टरनेशनल बुद्धिष्ट एकेडेमीका खेन्पो डा. ङवाङ ज्योरदेनले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।