काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेल र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच आज भेटवार्ता भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहनुभएका महासचिव पोखरेल र सिपिसीका विदेश विभाग प्रमुख लिउ जियनचाओबीच आज बेइजिङमा भेटवार्ता भएको हो ।

सो अवसरमा महासचिव पोखरेलले आफूहरु चीनको पक्षमा दृढ रहेको उल्लेख गर्दै चीनविरोधी गतिविधि नेपालको भूमिबाट हुन नदिने बताउनुभयो । महासचिव पोखरेलले एमालेले असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको बताउनुभयो । महासचिव पोखरेलले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच भएका सहमति कार्यान्वयनको पक्षमा एमाले रहेको भनाइ राख्नुभयो ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध घनिष्ठ र समुधुर रहेको उल्लेख गर्दै यस सम्बन्धलाई नयाँ उचाइमा लैजान चाहेको बताउनुभयो ।

महासचिव पोखरेलले नेपाल भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएका सहमति कार्यन्वयनका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । विदेश विभाग प्रमुख लिउ जियनचाओले चीन सधँै शान्ति, विकास र समृद्धिको पक्षमा रहँदै आएको स्पष्ट पार्नुभयो ।