फाइल तस्वीर
काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश पुनसँग बयान लिएको छ । सीआईबीले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा पुनलाई कार्यालयमै बोलाएर बयान लिएको हो ।

नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका दीपेश पुनको सुन तस्करीमा मुछिएका व्यक्तिहरुसँग पनि सम्पर्क देखिएपछि सीआईबीले अनुसन्धानका लागि उनलाई कार्यालयमा बोलाएर बयान लिएको हो ।

गत साउन ३ मा हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट चेक जाँचबाट बाहिरिंदै गर्दा राजश्व अनुसन्धान विभागको टोलीले सिनामङ्गलमा बरामद गरेको थियो ।

उक्त सुन प्रकरणमा विभागले सुरुमा अनुसन्धान गरेको भएता पनि प्रारम्भिक अनुसन्धान पछि थप अनुसन्धानको लागि विभागले साउन २१ गते सीआईबीलाई जिम्मा लगाएको थियो । आफूले अनुसन्धानको जिम्मा पाएसँगै सीआईबीले सोधपुछ र अनुसन्धानलाई तीव्रता दिएको छ । यस प्रकरणमा प्रहरीले अहिलेसम्म २६ जनालाई पक्राउ गरिसकेको छ ।