फाइल तस्वीरः उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ।

काठमाडौं — गृहमन्त्रालयको जिम्मेवारी संहाल्नुभएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको छ । आज बिहीबार नेपाल पर्वतारोहण सङ्घको ३३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई विभिन्न कोषबाट असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको हो ।

गृहमन्त्री श्रेष्ठले जुन प्रवृत्ति र तागतकाविरुद्ध सरकारले सुशासनको अभियान सुरु गरेको हो, सोही प्रवृत्ति र तागतहरूको सङ्गठित गिरोह यतिबेला सरकारको अभियान असफल पार्न धम्मरधुस लागेको बताउनुहुँदै सरकारले सुशासनको अभियानबाट विश्राम नलिने जिकिर गर्नुभयो ।
यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाइ छाड्ने दावी गर्दै मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरूमा सबै राजनीतिक पार्टीहरूले सहमति कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

कायक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भन्नुभयो ‘सरकारले अहिले समृद्धिको यात्रा, प्रक्रियालाई तीव्र बनाउने हो भने हामीले सुशासनको अभियानलाई प्रभावकारी ढंगले अगाडि नबढाइ हुँदैन । भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्ने, दण्डहिनतालाई अन्त्य गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने, तस्करी, कालाबजारीालाई रोक्ने र त्यसप्रकारको अपराधमा संलग्नहरूलाई कडा कारवाही गर्ने प्रक्रियामा अगाडि बढेर मात्रै यो देशमा सुशासन स्थापित गर्न सकिन्छ ।’