रामपुर — नेपाली काङ्ग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणमा संलग्न रहेका व्यक्तिलाई कानुनी दायरामा ल्याउने बताउनुभएको छ । पाल्पाको रामपुरमा आज नेपाल प्रेस युनियन पाल्पाले आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री शर्माले सुनकाण्डमा जोकोही संलग्न रहे पनि कानुनी कठघरामा ल्याउनुपर्ने र त्यसको लागि काङ्ग्रेसले दलको आडमा कसैलाई ढाकछोप गर्न लागेमा उम्कन नदिने बताउनुभयो ।
सुनकाण्डका विषयमा अहिले सिआइवीले छानबिन गरिरहेको बताउँदै उहाँले जात, धर्म, ठूलो, साना व्यक्ति भनेर कसैलाई छुट नरहेको, छानबिनको क्रममा रहेकाले यस कार्यमा कोको संलग्न छन् एवं कसरी भित्रिरहेको छ यी सबै कुराको अध्ययन गरेर प्रतिवेदन बनाएर आवश्यक छानबिन गर्ने स्पष्ट पार्नुभयो ।
कानुनविपरीत कार्य गर्नेलाई कुनै पनि राजनीतिक दलले शक्ति र सत्ताको आडमा ढाकछोप गर्न नहुने, दल आफैँले बनाएको कानुन पालना गरेर भ्रष्टाचार, बेथितिविरुद्ध सबै दल एक ठाउँमा उभिनुपर्ने उहाँको भनाइ छ । धरानमा भएको गौहत्या काण्ड गम्भीर रहेकाले धर्म निरपेक्षता रहेको देशमा कसैले पनि एकले अर्को जात, सम्प्रदायबीच खलल पुग्ने कार्य गर्न नहुने महामन्त्री शर्मा बताउनुहुन्छ ।
एक अर्को प्रसङ्गमा उहाँले हरेक राजनीतिक दलभित्र नेतृत्व विकल्प रहेको हुँदा एकले अर्कोलाई दोषरोपण गरेर राजनीति चल्दैन भन्नुभयो । महामन्त्री शर्मा काङ्ग्रेस क्षेत्र नं १ पाल्पाले आयोजना गरेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनका लागि आज पाल्पाको रामपुर आउनुभएको हो ।