फाइल तस्वीर
घोराही (दाङ) दाङका स्थानीय तहका न्यायिक समितिमा पछिल्लो एक वर्षमा करिब सात सय उजुरी परेका छन् । स्थानीय तहको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा छ सय ८४ वटा उजुरी परेको जनाइएको छ । कुल उजुरीमध्ये चार सय ७३ वटा फछ्र्योट भएका छन् ।

सबैभन्दा बढी एक सय ३४ वटा उजुरी तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा परेको छ । साथै सबैभन्दा कम राजपुर गाउँपालिकामा परेको छ । जहाँ १६ वटामात्र उजुरी परेको स्थानीय तहको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा गत आवमा एक सय २९ उजुरी परेकोमा एक सय एक उजुरी फछ्र्योट भएका छन् । तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा गत आवमा एक सय ३४ वटा उजुरी परेकोमा ६२ वटा फछ्र्योट भएका छन् । लमही नगरपालिकाको न्यायिक समितिमा गत आवमा ३४ वटा उजुरी परेकोमा २९ वटा मुद्दा फछ्र्योट भएका छन् ।

राप्ती गाउँपालिकाको न्यायिक समितिमा गत आवमा ४४ वटा उजुरी परेकोमा सबै फछ्र्योट भएका छन् । गढवा गाउँपालिकाको न्यायिक समितिमा गत आवमा एक सय २४ वटा उजुरी परेकोमा एक सय नौ वटा फछ्र्योट भएका छन् ।

राजपुर गाउँपालिकाको न्यायिक समितिमा गत आवमा १६ वटा उजुरी परेकोमा नौ वटा मुद्दा फछ्र्योट भएका छन् । बङ्गलाचुली गाउँपालिकामा गत आवमा ३८ वटा उजुरी परेकोमा १५ वटा उजुरी फछ्र्योट भएका छन् ।

त्यसैगरी शान्तिनगर गाउँपालिकाको न्यायिक समितिमा गत आवमा ५८ वटा उजुरी परेकोमा ५३ वटा उजुरी फछ्र्योट भएका छन् । तर फछ्र्योट भएका उजुरी के कसरी भएका हुन् भन्नेबारेमा केही उल्लेख गरिएको छैन ।

दङ्गीशरण गाउँपालिकाको न्यायिक समितिमा गत आवमा २६ वटा उजुरी परेकोमा १२ वटा उजुरी फछ्र्योट भएका छन् भने बबई गाउँपालिकाको न्यायिक समितिमा ८१ वटा उजुरी परेकोमा ३९ वटा फछ्र्योट भएका छन् ।