फाइल तस्वीर
काठमाडौँ — अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशनको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) भोलि मङ्गलबारदेखि कार्यान्वयन हुनेभएको छ । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपाल सरकारबीच भएको अनुदान सहायता सम्झौता एमसीसी परियोजना भोलिदेखि कार्यान्वयनमा आउन लागेको हो ।

एमसीसीको कार्यावधि कार्यान्वयनमा प्रवेश गरेको दिनदेखि पाँच वर्ष अवधीको हुने सम्झौतामा उल्लेख छ । परियोजनाको उद्देश्य नेपालको पूर्वाधार विकास गर्ने देखाइएको छ । मुख्यतया अन्तर्देशीय विद्युत प्रशारण लाइन र सडक विस्तारको योजना रहेको छ ।

एमसीसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) ले मंगलबारदेखि एमसिसी कार्यान्वयनमा जाने जनाएको छ। एमसीए नेपालका अनुसार एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका आयोजनालाई कार्यान्वयन चरणमा प्रवेश गराउनुपूर्व नेपाल सरकारले पूरा गर्नुपर्ने अधिकांश पूर्वसर्त पूरा गरेको छ।

पूरा भएका पूर्वशर्तहरूमा विद्युत् प्रसारण लाइन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको, विद्युत् नियमन आयोग ऐन लागू गरी आयोग गठन भएको, कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको, नेपालको बुटवलदेखि भारतको गोरखपुरसम्म अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि भारत सरकारसँगको सहमतिमा योजना तर्जुमा भएको र संसदबाट अनुमोदन भएको कम्प्याक्टमा छ ।

छ वटा प्राथमिक पूर्वसर्तमध्ये छैटौँ वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति तथा जग्गा अधिग्रहण र रुख कटानी पूरा हुन बाँकी छ । यस विषयमा सन्तोषजनक प्रगति भएकाले एमसीसीको केन्द्रीय कार्यालयले कार्यान्वयनमा जान असर नपर्ने जनाएकोे छ । एमसिए नेपालले काम थालेपछि पनि यो काम पूरा गर्न सकिने अनुमति प्राप्त गरेको जनाएको छ ।

सम्झौता कार्यान्वयनमा जानुअघि नै नेपाल सरकार र एमसीसीबीच गत जेठ १४ गते आदानप्रदान गरिएको कार्यान्वयन पत्र अनुसार नेपाल सरकारले एमसीसी कम्प्याक्टमा आफ्नो लगानी ६ दशमलब ७० करोड अमेरिकी डलर थपेको हो । सम्झौताको सुरुमा एमसीसीका तर्फबाट ५० करोड डलर अनुदान र नेपाल सरकारले १३ करोड डलर लगानी गर्ने सहमति भएको थियो ।

सरकारकातर्फबाट थप गरिएको लगानी एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत विद्युत् प्रसारण आयोजनाका लागि उपयोग गरिने एमसीए नेपालले जनाएको छ । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत तीन वटा सबस्टेसन निर्माण गरिने छ ।

डेढ वर्ष अघि वि.सं. २०७८ साल फागुनमा एसीसी परियोजना सम्झौतालाई प्रतिनिधिसभाको बैठकबाटै अनुमोदन भएको यियो । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित प्रमुख प्रतिपक्षी दल एमाले भने उक्त मतदान प्रक्रियामा सहभागी भएको थिएन । अत्यन्त विवादास्पद बनाइएको उक्त परियोजनाको लगानी नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि नै खतरा हुने परिभाषित गरिंदै आएको छ ।