प्रतिकात्मक तस्वीर
बैतडी — करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयबैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका– ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका छन् ।

त्यस्तै, दशरथचन्द नगरपालिका– ५ आइतका ४३ वर्षीय केशवदत्त लेखक(लछु) मृत भेट्टिएका छन् । केशव वडा नं ५ को कार्यालय नजिकै मृत फेला परेका प्रहरी निरीक्षक केसीले बताउनुभयो । उहाँका अनुसार शनिबार घरबाट निस्केका केशव आइतबार बिहान मृत फेला परेका हुन् । 

केशवको मृत्युको कारण खुल्न सकेको नसकेको प्रहरी प्रवक्ता केसीले जानकारी दिनुभयो । “शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ”, उहाँले भन्नुभयो, “परीक्षण रिपोर्टपछि के कति कारणले मृत्यु भएको खुल्ने छ ।” अहिले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।