फाइल तस्वीर

काठमाडौं — बालिका बलात्कारको अभियोग खेपिरहेका नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा आज हुँदैछ । सन्दीपविरुद्ध उक्तमुद्दाको अन्तिम सुनुवाइको पेशी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ ।

आज उनको पेशी ५ नम्बरमा परेको छ । सन्दीपविरुद्ध उक्तमुद्दाको फैसला आजै आउन सक्ने बताइएको छ । यसअघि गत ३२ साउनमा उनको पछिल्लो पेशी न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको थियो । न्यायाधीश खतिवडाको इजलासले सो मुद्दाको अन्तिम बहस भने सुरु नगरी रोकिएको थियो । न्यायाधीश खतिवडाको इजलासले बालिकाकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।

न्यायाधीश खतिवडाको आदेशअनुसार आमाको मिति प्रमाणीकरण भएर अदालतमा आइसकेको छ । साथै अन्य आवश्यक कागजातहरूसमेत अदालत आइपुगेकाले आइतबारका लागि अन्तिम बहस तोकिएको हो ।

यसअघि पनि पटक–पटक अन्तिम सुनुवाइ सुरु हुन नसक्दा सन्दीपको मुद्दा किनारा लाग्न सकेको थिएन । सर्वोच्चले उक्त मुद्दाको किनारा चाँडो लगाउन आदेश गरेको भए पनि काठमाडौं जिल्ला अदालतले मुद्दाको अन्तिम सुनुवाइ गर्न नसक्दा पटक पटक सर्दै आएको छ ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले आजको बहसपछि एसिया कपका लागि सन्दीप आजै राति या भो‍लि बिहानसम्ममा पाकिस्तान प्रस्थान गर्ने दावी गर्नुभएको छ । नेपाली राष्ट्रिय टिमका मुख्य खेलाडी मानिनुभएका सन्दीप लामिछानेको पक्षमा फैसला भएमा सन्दीप एसिया कप खेल्नका लागि पाकिस्तान जाने सम्भावना छ ।