फाइल तस्वीर


काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोटमा सुन राखेर तस्करी भएको प्रकरणको पनि छानविन हुनेभएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले उक्त प्रकरणको छानविन गर्ने भएको हो ।

विद्युतीय चुरोटमा सुन राखेर तस्करी भएको विषयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता भएको विषय अब आयोगले गर्ने भएको छ । राष्ट्रिय मान्यताप्राप्त दलहरुको आज बुधबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले महरा प्रकरणसहित सुन तस्करी प्रकरणका सबै विषयको छानविन गर्नेगरी उच्चस्तरीय आयोग गठन गर्न सहमति जुटेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोटमा सुन राखेर तस्करी भएको प्रकरणमा पूर्वसभामूख महराका बाबुछोरा दुवैको नाम जोडिंदै आएको छ । माओवादी केन्द्रका उपाध्यक्ष महराले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफु बयान दिन तयार भएको अभिव्यक्ति दिनुभएको थियो ।

दलहरुबीच भएको सहमति पत्रमा ‘विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, मिति २०८० श्रावण २ गते ब्रेक सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन लगायत पटक पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धानबारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम असोज ५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ’, भनि उल्लेख गरिएको छ ।