फाइल तस्वीरः प्रतिनिधिसभा बैठक ।
काठमाडौँ — प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बानेश्वरस्थित सङ्घीय संसद भवनमा आज बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको हो ।
आजको बैठकको कार्यसूची अनुसार राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले निरन्तरता पाउने अपेक्षा गरिएको छ । संसद् सचिवालयले बैठक प्रभावित हुँदै आएकोले पुरानै कार्यसूचीलाई निरन्तरता दिँदै आएको छ ।