फाइल तस्वीरः पूर्व सभामुख कृष्णबहादुर महरा ।


दाङ — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा आफुले सरकार गर्ने अनुसन्धानमा सहयोग गर्ने बताउनुभएको छ । दाङ पुग्नुभएका उपाध्यक्ष महराले सञ्चारकर्मीहरुसँग कुरागर्दै सुन तस्करीको प्रकरणमा सरकारले गर्ने अनुसन्धानमा सहयोग गर्ने दावी गर्नुभएको हो ।

पूर्वसभामुख महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको भन्नुहुँदै यस प्रकरणमा सरकारलाई अनुसन्धानका लागि आफुले तयार रहेको बताउनुभएको छ । सञ्चारकर्मीको प्रश्नको जवाफ दिंदै उपाध्यक्ष महराले भन्नुभयो — ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानविनका लागि सघाउनका निम्ति तयार छु । जुनकुरा मैले भन्दैपनि आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुहोस् पनि भनेकै छु ।’

सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङलाई आफुले फलफुल व्यापारिका रुपमामात्र चिनेको भन्नुहुँदै त्यसबाहेक वाङलाई आफूले नचिनेको बताउनुभएको छ । पूर्वसभामुख महराले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको उल्लेख गर्नुहुँदै सञ्चार माध्यममा आफुलाई जोडेर गलत प्रचार भएको जिकिरसमेत गर्नुभयो ।

पूर्वसभामुख महराले सुन तस्करीको भनेको टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दावी गर्नुहुँदै वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन आग्रह गरेको खुलासा गर्नुभयो ।

‘सुनको स पनि कुरा भएको थिएन, मलाई के छ भनेर थाहा पनि भएन, मैले भन्सारका साथीहरुलाई कुराकानी गरेर कानूनअनुसार हेरेरमात्र काम गर्नुहोला, रोक्नु पर्ने भए रोक्नु होला, भनेको हुँ । यसैलाई आधार मानेर बाहिर सञ्चार माध्यमले सत्य तथ्य नबुझी गलत प्रचार गर्ने काम भयो । यसप्रति मेरा आपत्ति छ’— पूर्वसभामुख महराले भन्नुभयो ।