त्रिवेणी — नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका –१० अरुणखोलामा रहेको रङ्गशाला बजेट अभाव हुँदा निर्माण पूरा हुनसकेको छैन । अरुणखोलामा रहेको सहिद रमा स्मृति रङ्गशालाका लागि आवश्यक बजेट अभाव हुँदा निर्माण पूरा हुन नसकेको हो ।

वि.सं २०६३ देखि उक्त रङ्गशाला निर्माण थालनी गरिएको थियो । तर यतिका वर्ष वित्दासमेत यसले पूर्णता भने पाउन सकेको छैन । विभिन्न समयमा मध्यविन्दु नगरपालिका एन्फा, अरुणखोला सामुदायिक वन, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार, सङ्घ सरकारको युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा केही संरचना तयार पारिएको छ ।

रङ्गशालामा हालसम्म चारैतिर पर्खाल बनाउने, केही भागमा प्याराफिट निर्माण, चेन्जिङ रुम, गेट, कार्यालय कोठालगायतका संरचना निर्माण गरिएको सहिद रमा स्मृति रङ्गशालाका अध्यक्ष मेघराज पाण्डेले बताउनुभयो । गत आर्थिक वर्ष मात्रै खेलकुद मन्त्रालयबाट रु ३५ लाख, राष्ट्रिय खेलकुद परिषद्बाट रु २० लाख र मध्यविन्दु नगरपालिकाबाट प्राप्त रु १५ लाख गरी कूल रु ७० लाख बराबरको काम गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

उक्त रकमबाट रङ्शालामा प्याराफिटको जग, पिल्लर निर्माण तथा पश्चिम भागमा प्याराफिट निर्माण सम्पन्न भएको मध्यविन्दु नगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव हिमाल सिंह ठकुरीले बताउनुभयो । मध्यविन्दु खेलकुद विकास समितिको अध्यक्षसमेत रहनुभएका पाण्डेका अनुसार हालसम्म उक्त रङ्गशालामा रु दुई करोड बराबरको काम सम्पन्न गरिएको छ ।

अझै पनि रङ्गशालाको व्यवस्थापनका लागि अनुमानित रु १० करोड आवश्यक रहेको उहाँको भनाइ छ । थोरै बजेट विनियोजन हुँदा रङ्गशाला निर्माण सुस्तगतिमा भएको अध्यक्ष पाण्डेले बताउनुभयो । “हामी रङ्गशाला निर्माणका लागि काम गरिरहेका छौँ, तर बजेट सधैँ न्यून मात्रमा आउन, सोच अनुसार काम गर्न सकिरहेका छैनौँ”, अध्यक्ष पाण्डेले भन्नुभयो ।

रङ्गशाला निर्माण गर्न सके विभिन्न जिल्लास्तरका खेल सञ्चालनका लागि सहज हुने उहाँको भनाइ छ । रङ्गशाला निर्माणले खेल प्रशिक्षणका लागिसमेत सहयोग पुग्ने र नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने अध्यक्ष पाण्डेको विश्वास छ । यस विषयमा सम्बन्धित सरोकारवालाले आवश्यक बजेट विनियोजनका लागि पहल गर्नुपर्ने र अधुरो रङ्गशालालाई पूर्णता दिन लाग्नुपर्ने उहाँको भनाइ छ ।