तस्वीरः डुवानमा परेको बस्ती ।


भजनी — बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शान्तले सुत्न पाउँदैनन् ।

“बर्सेनि बाढीले विस्थापित बनाउँछ । दुई–तीन महिना सडकमै बास हुन्छ”, स्थानीय सुरेन्द्र चौधरी भन्नुहुन्छ– “बाढीका तीन महिना देशमा हाम्रा लागि सरकार छ कि छैन जस्तो हुन्छ ।” सान्त्वना दिनुभन्दा पीडा नहुने गरी दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उहाँको भनाइ छ । 

भजनीकै रामकृष्ण चौधरी पनि समस्याका बेलामात्रै दिइने सान्त्वनाले  समस्या समाधान नहुने बताउनुहुन्छ । बाढी र डुबानको मुख्य समस्या  पहिचान गरी काम थाल्नुपर्ने उहाँको भनाइ छ । “बाढीका कारण खेत बाँझो राख्नुपरेको छ । लगाएको खेती भित्र्याउन पाइन्न । कुन बेला के हुन्छ भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपर्छ”, चौधरीले भन्नुभयो । बाढी र डुबानको दीर्घकालीन समाधान आवश्यक भएको उहाँको भनाइ छ । 

बर्सेनि बाढी र डुबानका कारण करोडौँको क्षति हुने गरेको छ । विशेषगरी नदीका कारण भजनीका अधिकांश क्षेत्र डुबानमा पर्छन् । “बाढी बस्तीमा पसेपछि समस्या बढी हुन्छ । पानीको निकास नहुँदा डुबानको जोखिम महिनौँसम्म रहन्छ”, स्थानीय रीता बोहरा भन्नुहुन्छ । 

भजनी नगरपालिकाका प्रमुख केवल चौधरी भजनी डुबानमा पर्नुका विविध कारण रहेको बताउनुहुन्छ । भजनीलाई चारैतिरबाट नदीले घेरेको छ । बाढीबाट जोगाउन उचित काम हुन नसक्दा भजनी डुबानमा पर्ने गरेको छ । “भारतको कैलाश बाँधले पनि बढी समस्या भएको छ । भारतले कैलाश बाँध बन्द गरेपछि त्यसको असर भजनीमा बढी पर्ने गरेको छ”, नगरप्रमुख चौधरीले भन्नुभयो । 

कैलाली क्षेत्र नं ३ की सांसद गङ्गा चौधरी हुलाकी राजमार्गले पनि डुबानको समस्या निम्त्याएको बताउनुभयो । पानीको निकास नहुँदा तथा जमिनभन्दा राजमार्गको उचाइ १०–१२ फिट बढी भएर समस्या भएको उहाँको भनाइ छ । उहाँले हुलाकी राजमार्गको पूर्वी क्षेत्र जलमग्न हुँदा पश्चिम क्षेत्रमा पानी नहुनु भनेको पानीको निकास नै नभएर डुबान गरेको भन्दै त्यसको विकल्प खोज्न आवश्यक रहेको सांसद चौधरीले बताउनुभयो ।


राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पथरैया नदीमा गरेको तटबन्धको काम अधुरै हुँदा पनि भजनी डुबानमा पर्ने गरेको छ । आयोजनाले केही भागमा तटबन्ध गरेर केही भाग छोड्दा तटबन्ध नभएको स्थानबाट पथरैया नदी बस्तीमा पसेको हो । आयोजनाका प्रमुख केदार श्रेष्ठले बजेट अभावका कारण सबै ठाउँमा तटबन्धको काम गर्न नसकिएको बताउनुभयो । यसपटकको बाढीका कारण भजनी नगरपालिकामा मात्रै एक हजार आठ सय २२ घरपरिवार विस्थापित भएका छन् । दुई घर बाढीले बगाएको तथ्याङ्क छ ।

एक दशकपछि अत्यधिक वर्षा

टीकापुर : कैलालीको कर्णाली चिसापानी क्षेत्रमा २०७१ यताकै बढी  वर्षा भएको छ । वर्षा मापन केन्द्र कर्णाली चिसापानीका अनुसार यही साउन २३ गते बिहान चार सय २४ दशमलव दुई मिलीमिटर वर्षा मापन गरिएको छ । यसैगरी चिसापानी माथिल्लो क्षेत्रमा वर्षा भए ठूलो खतरा हुने जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्र चिसापानीकी कर्मचारी पार्वती गुरुङले बताउनुभयो । 

“माथिल्लो क्षेत्रमा पनि यस्तै वर्षा भएको भए नदीमा पानीको बहाव अत्यधिक बढ्ने थियो”, उहाँले भन्नुभयो । जल तथा मौसम विज्ञान विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका अनुसार यही साउन २४ गते एक सय ४३ दशमलव नौ मिलीमिटर वर्षा मापन भएको छ । चुरे क्षेत्रमा वर्षा भएकाले त्यहाँ पहिरोसमेत गएको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले बताउनुभयो । रासस

अहिले पनि मनसुन सक्रिय भएकाले देशका अधिकांश भू–भागमा वर्षा भइरहेको छ ।