काठमाडौँ — सरकारले ल्याएको शिक्षा विधेयकलाई लिएर निजी तथा आवासीय विद्यालयका छाता सङ्गठनहरू आन्दोलनमा उत्रिएका छन् । मन्त्रिपरिषद्ले गतहप्ता पास गरेको शिक्षा विधेयकको विरोधमा आज बिहीबार राजधानीको माइतीघरमा पुगेर प्याब्सन, हिसान तथा नेसनल प्याब्सनले संयुक्त रूपमा आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा होमिएका सङ्गठनका सहभागीले ‘गुणस्तरीय शिक्षामा निजीको महत्वपूर्ण छ, विधेयक कसले र कसका लागि बनायौँ ?’, ‘विभेदको अन्त्यको लागि शिक्षा हो भने शिक्षामा विभेद किन गर्छौ ? भन्ने लगायतका प्लेकार्ड लिएर आन्दोलनमा उत्रेका छन् ।

आन्दोलनकारी छाता सङ्गठनहरुले संयुक्त रुपमा गुणस्तरीय शिक्षमा निजी विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताउँर्द सामुदायिक विद्यालयको शिक्षा सुधार्नु पर्ने र निजीको शिक्षा नबिगार्न माग गरेका छन् ।

शिक्षा विधेयकप्रति सङ्गठनको असहमतिका यस्ता रहेका छन् । शैक्षिक गुठीमा रुपान्तरित हुनका लागि प्रोत्साहन गर्नुपर्नेमा सो सम्बन्धमा आवश्यक ऐन, प्रावधानहरू नै तयार नगरी हठात् रुपमा पाँच वर्षभित्रमा दायित्व फरफारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने बाध्यात्मक प्रावधान संविधानको मर्म र भावना विपरित, अलोकतान्त्रिक, अव्यावहारिक र अन्यायपूर्ण छ ।

समग्र छात्रवृत्ति व्यवस्थापनका सम्बन्धमा विधमान विभेदकारी नीतिलाई सम्बोधन गर्न आवश्यक प्रावधानको व्यवस्था गरिएको छैन । नेपाल सरकारले गठन गर्ने शिक्षासँग सम्बन्धित समिति तथा उपसमितिहरूमा निजी लगानीका विद्यालयहरूको छाता संगठनलाई व्यवास्ता गर्ने कुरा लोकतान्त्रिक मूल्य र मान्यता विपरित छ ।

यथास्थितिमा कानुन निर्माण भएमा निजी लगानीका विद्यालयहरूको वृद्धि, विकास, सुरक्षा, संरक्षण र सम्वर्धन असम्भव मात्र नभइ यस्ता विद्यालयहरू बन्द हुने अवस्थामा पुग्नेछन्। लगायतका मुख्य विमति राखेका छन्।