फाइल तस्वीरः नागढुङ्गा–नौबिसे सुरुङ मार्ग ।


काठमाडौँ — राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिएको बहु प्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘रेस्क्यु टनेल’ आज ब्रेक थ्रु’ हुँदैछ । उक्त आयोजनाका अनुसार २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको ‘रेस्क्यू टनेल’ निर्माणको काम सकिन केवल एक मिटर मात्रै बाँकी रहेकोले उक्त टनेल आज सोमबार ‘ब्रेक थ्रु’ गर्न लागिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको उपस्थितिमा आज उक्त सुरुङ मार्गको रेस्क्यू टनेलको ’ब्रेक थ्रु’ गरिनेभएको छ । दुई दशमलव पाँच किलोमिटर लामो नागढुङ्गा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ गरिएसँगै मुख्य टनेलको काम पनि छिट्टै सकिने आयोजनाले जनाएको छ । मुख्य सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्न कुल लम्बाईको १८ प्रतिशत अर्थात ५ सय ६ मिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

एक वर्षभित्र सुरुङमार्ग सम्पन्न भै सोही मार्गबाट यातायात सञ्चालन हुने आयोजनाले जनाएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि नौबिसे—नागढुङ्गा सडकमार्ग सहज हुनेछ । लामो समयदेखि सवारी साधन र यात्रुहरुले खेप्दै आएको सास्ती अन्त्य हुनेछ ।