ढोरपाटन — अविरल वर्षाका कारण अवरुद्ध भएको सालझण्डी–ढोरपाटन सडक २३ घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार दिउँसोदेखि अवरुद्ध भएको उक्त सडक २३ घण्टापछि आज सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो ।

राष्ट्रिय प्राथमिकताको आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडक खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमानामा पर्ने दोगाडी पुलमा माथिबाट पहिरा खसेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध बनेपछि ढोरपाटन, बोबाङ, फल्लेघरलगाएका ठाउँबाट बुर्तिबाङ, पोखरा काठमाडौँ, बुटवल जाने सवारी साधन अलपत्र परेका थिए । 

सडक सञ्चालनमा आएसँगै बाटोमा रोकिएका सबै सवारी साधन गन्तव्यतिर लागेका उपप्रमुख कायतले बताउनुभयो । बिहीबार नै सडक खुलाउने प्रयास गरे पनि अविरल वर्षासँगै आएको ठूलो पहिराका कारण खुलाउन नसकिएको उहाँको भनाइ थियो । 

आज बिहानैदेखि डोजर लगाएर सडक खुलाउने प्रयास गरिएको भन्दै दिउँसोदेखि नियमित सञ्चालन भइरहेको उपप्रमुख कायतले जानकारी दिनुभयो । “हिजो वर्षाले गर्दा खुलाउन सकिएन, पहिरो पनि निकै ठूलो खसेको थियो, आज पनि बिहानैदेखि डोजर लगाएर काम ग¥यौँ, अहिले सडक खुलेको छ”, उहाँले भन्नुभयो, “अहिले बाटो खुलेर यातायताका साधन सञ्चालन भइरहेका छन् ।”