काठमाडौँ — विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ । गत मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो ।
विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सूत्रका अनुसार आधारभूत तहको अन्तिम परीक्षा (कक्षा ८) सञ्चालनको अधिकार स्थानीय तहलाई र माध्यमिक तहको अन्तिम परीक्षा (कक्षा १२) को सञ्चालनको अधिकार राष्ट्रिय परीक्षा बोर्डमा नै निहित हुने तर एसइई खारेज गर्ने प्रस्ताव गरिएको छ ।
कक्षा १० को परीक्षा भने सम्बन्धित विद्यालयले नै लिने गरी प्रस्ताव गरिएको छ । नेपालमा १९९० सालदेखि सुरु भएको एसएलसी परीक्षा वि.सं. २०७३ सालबाट एसइई नामकरण गरिएको हो ।