फाइल तस्वीर

भरतपुर – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले थुनामा रहेका पूर्व गृहमन्त्री एवम् पार्टीका नेता बालकृष्ण खाँणलाई अदालतले दोषी ठहर नगर्दासम्म पार्टीले कारवाही नगर्ने बताउनुभएको छ ।

चितवन पुग्नुभएका सिंहले पत्रकारहरुसँगको जिज्ञाको जवाफ दिंदै नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका काङ्ग्रेस नेता खाँडलाई अदालतले दोषी करार नगरेसम्म कारवाही गर्न नमिल्ले बताउनुभएको हो ।

नेता सिंहले आरोप लाग्दैमा पार्टीले कारवाही गरिहाल्नुपर्छ भन्ने होइन भन्नुहुँदै ‘अहिले अदालतमा विचाराधीन रहेको मुद्दामा पार्टी कारवाही गरिहाल्ने कुरा आउँदैन । पहिला पनि पार्टीका नेताहरुमाथि लागेको आरोपमा पार्टीले कारवाही नगरेको उल्लेख गर्नुहुँदै नेता खाँणको विषयमा पनि मुद्दाको फैसला आएपछि मात्रै निर्णय लिने बताउनुभयो ।

पुरानो नजिरलाई लिएर नै पार्टीले नेता खाँणलाई कारवाही नगरेको पत्रकारहरुलाई जानकारी गराउँदै भन्नुभयो ’पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारवाही गर्ने गरिएको थियो । त्यहीअनुसार अहिले कारवाही नगरिएको हो ।’

यद्यपि, नेपाली काङ्ग्रेस भ्रष्टाचारको संरक्षणमा भने नलाग्ने उल्लेख गर्दै ’निष्पक्ष तवरले कानुनी राज्यको पक्षमा काङ्ग्रेस रहेको र आफ्ना पार्टीका नेतालाई कानुन लाग्नुहुँदैन भन्ने पक्षमा नेपाली काङ्ग्रेस छैन’ भन्नुभयो ।