प्रतिकात्मक तस्वीर
काठमाडौं — डेङ्गी सङ्क्रमणका विरामी चार हजार नाघेका छन् । टेकुस्थित इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताउनुभयो ।

निर्देशक मरासिनीका अनुसार चार हजार दुई सय ८९ जनामा डेङ्गीका बिरामी भएका छन् । महाशाखाका अनुसार असार ३० गते दुई हजार नौ सय ३० जनामा डेङ्गुको सङ्क्रमण भएको थियो । कोशी प्रदेशमा दुई हजार सात सय ५४, बागमती प्रदेशमा सात सय ७६, गण्डकी प्रदेशमा तीन सय ४४, सुदूरपश्चिम प्रदेशमा तीन सय १६, लुम्बिनी प्रदेशमा एक सय ६६, मधेस प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा २० जनामा डेङ्गीका बिरामी रहेका छन् ।

डेङ्गी सङ्क्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन् । ती १० जिल्लामा मात्र तीन हजार छ सय ७१ बिरामी रहेका छन् । जसमा सुनसरीमा दुई हजार पाँच सय ४२, धादिङमा चार सय एक, कास्कीमा दुई सय पाँच, दार्चुलामा एक सय ९०, काठमाडौँमा ८०, सङ्खुवासभामा ६४, म्याग्दीमा ५४, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५ र मोरङमा ३८ जना बिरामी रहेका छन् ।

महाशाखाले डेङ्गी सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।