साङ्केतिक तस्वीर
तनहुँ — पृथ्वीराज मार्गमा माइक्रो बस दुर्घटना हुँदा १२ जना यात्रुहरु घाइते भएका छन् । मुग्लिङबाट आँबुखैरेनी जाँदै गरेको बा २ ख ४०२० नं को माईक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५१७९ नम्बरको माईक्रो सोमबार राती करिब ९:२० बजे एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक(डिएसपी) मोहनबहादुर खाँडका अनुसार उक्त दुर्घटनामा परेको बा २ ख ४०२० नम्बरको माइक्रोमा सवार १२ जना यात्रुहरू घाइते भएका छन् । घाइतेभएका मध्ये चार जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ भने बाँकी आठ जनाको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तनहुँ जिल्ला प्रहरी प्रमुख डिएसपी खाँडका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुमा तनहुँको ब्यास नगरपालिका–४ बस्ने वर्ष २५ का गणेश राई, कास्की पोखरा महानगरपालिका–२१ बस्ने वर्ष ४१ को विजय पौडेल, वर्ष ४५ को प्रेम ठकुरी, १९ वर्षीय रोशन ठकुरी, पोखरा महानगरपालिका–१४ बस्ने वर्ष ४४ को मनोज तामाङ, वर्ष ३६ की सबिता श्रेष्ठ तामाङ, रौतहट जिल्लाको वृन्दावन नगरपालिका–७ बस्ने २६ की प्रमोद चौधरी र दोलखा दार्जे गाउँपालिका–२१ बस्ने १८ वर्षीय आइजन गुरुङ घाइते हुनु भएको । घाइत आठै जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनुभएका गणेश राईको अवस्था खतरामुक्त रहेका बताइएको छ ।

सोही दुर्घटनामा परेकामध्ये धादिङ नीलकण्ठ नगरपालिका–१ बस्ने वर्ष २४ को राजु गिरी, गोरखा जिल्लाको पालुङटार नगरपालिका–६ बस्ने वर्ष ३६ को रामप्रसाद गुरुङ, तनहुँको व्यास नगरपालिका– ११ बस्ने वर्ष ४० को डिल्लीराम भुजेल, कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ बस्ने वर्ष ३८ की लेकाली गुरुङको आँबुखैरेनीमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनुभएका गणेश राईको अवस्था खतरामुक्त रहेको चितवनस्थित पुरानो मेडिकल कलेजले जनाएको छ ।

माइक्रो बसको गति अत्यधिक भएका कारण दुर्घटनाको भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कायालय तनहुँले जनाएको छ ।