फाइल तस्वीर
बैतडी — बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल गरिएको हो ।
प्रहरीले सो स्वास्थ्य क्लिनिक सञ्चालक खेमराज अवस्थीलाई समेत नियन्त्रणमा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले क्लिनिकका साथै मेडिकल पनि सञ्चालन गरेका थिए ।
छड्के अनुगमनका क्रममा अवस्थीलाई बिरामी जाँचिरहेको अवस्थामा पक्राउ गरिएको र उक्त पसल सिलसमेत गरिएको हो । उहाँले भन्नुभयो, “स्वास्थ्यसम्बन्धी कुनै अनुमति नभएका अवस्थी बिरामीलाई स्लाइन चढाइरहेकै अवस्थामा भेटेपछि नियन्त्रणमा लिइएको छ ।”
क्लिनिक सञ्चालक अवस्थीले वि सं २०७१ देखि हिमालय अवस्थीको नामको ‘पान’ नम्बर लिएको तर मेडिकल र क्लिनिकका लागि अनुमति नै नलिएर सञ्चालन गरिरहेका थिए । स्वास्थ्यसम्बन्धी कुनै अनुमतिपत्र नलिएका व्यक्तिले दर्ता नै नभएको मेडिकल र क्लिनिक सञ्चालन गरिरहेको गुनासो आएपछि अनुगमन गरिएको प्रजिअ पन्थीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “खेमराजले अनुमतिबिना मेडिकल र क्लिनिक सञ्चालन गरिरहेको गुनासो आएको थियो, हामीले पटक–पटक अवैध मेडिकल बन्द गर्नुस् भनेर खबर गर्दा पनि अटेरी गरेपछि छड्के अनुगमन गरेका हौँ । हाम्रो टोली पुग्दा बिरामीलाई स्लाइन चढाएको र जाँचिरहेको भेट्टायौँ । अब कानुनअनुसार कारबाही हुन्छ ।” अनुगमनमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही र स्वास्थ्य कार्यालय बैतडीका प्रमुख यागेशप्रसाद भट्टलगायतको सहभागिता रहेको थियो ।