काठमाडौं — सार्वजनिक यातयातको भाडा घटेको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएसँगै सार्वजनिक यातायातको भाडा घटेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेको छ । सोहि अनुसार यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २ दशमलव १३ प्रतिशत, मालवाहक पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटाएको छ ।

घटाएको भाडादर आजदेखि नै लागु हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । त्यसको अनुगमन गर्ने जिम्मा यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई दिइएको उनले बताए । उनले भने, ‘घटाएको भाडा दर आजदेखि नै लागु हुनेछ । पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडा दर समायोजन गर्ने वैज्ञानिक भाडा दर कायम सम्बन्धी कार्यविधिको व्यवस्था छ । त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको छ ।’