फाइल तस्वीरः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको बैठक चल्न नदिने चेतावनी दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिनुभएको हो ।

शुक्रबारको कार्यसूची प्रभावित हुन नदिने उल्लेख गर्दै सभापति लामिछानेले अर्को प्रतिनिधिसभाको बैठकमा मिटरब्याज सम्बन्धी विधेयक ल्याउन आग्रह गर्दै ।

‘आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक राखिएन भने राष्ट्रिय स्वतन्त्र पार्टी सदन चल्न नदिने पक्षमा उभिने छ । यसपछि बस्ने बैठकमा यदि कार्यसूचीमा मिटरब्याज पीडितहरुको पक्षमा ल्याउन खोजिएको विधेयकलाई ल्याइएन भने पूर्व सूचना गरिरहेका छौं कि सदन चल्न सक्दैन, ‘ सभापति लामिछानेले भने, ‘जनतालाई रुवाएर त्यसबारे मौन बसेर सदन चल्न सक्दैन ।’

सभापति लामिछानेले सत्तापक्षकै केही दलका कारणले मिटरब्याज सम्बन्धी विधेयकलाई रोक्न खोजिएको भन्दै विधेयक सदनमा ल्याएपछि को पक्षमा र को विपक्षमा खुल्ने बताउनुभयो ।

सरकारले गत वैशाख २० गते ल्याएको मिटरब्याज सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २४ वैशाखमा प्रतिनिधिसभामा पेश भएको थियो । प्रतिस्थापन गर्ने विधेयक ६० दिन भित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ । जसअनुसार सदनले असार २० गतेसम्म विधेयक पारित गरिसक्नुपर्ने थियो ।

तर प्रमुख प्रतिपक्षी दल एमालेसहित अन्य विपक्षी दल रास्वपा र राप्रपाले सदन चल्न नदिएका कारण मिटरब्याज सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन विधेयक पारित हुन सकेको थिएन ।

विगतमा सदन चल्न नदिएर मिटरब्याज पीडितको विपक्षमा उभिएको भनी आफूहरुलाई आरोप लगाएको उल्लेख गर्दै रास्वपा सभापति लामिछानेले आफूहरु मिटरब्याज पीडितकै पक्षमा रहेको बताउनुभएको छ ।

सरकारले विधेयक ल्याए १५ दिनभित्र पारित गर्ने गरी फास्ट ट्रयाकमा अगाडि बढाउन आफूहरु तयार रहेको रास्वपाका सभापति एवम् सांसद् लामिछानेले उल्लेख गर्नुभयो ।