फाइल तस्वीरः पूर्वराजा ज्ञानेन्द्र शाह ।


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । स्वर्गीय सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्न पूर्वराजा शाहले आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालयमा पठाउनुभएको हो ।

पेरिसडाँडामा पुगेर महर्जनले पूर्वराजा शाहको तर्फबाट सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको थियो । स्वर्गीय सीता दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि आज दिउँसो पौने २ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । स्वर्गीय दाहालको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिंदैछ ।

प्रधानमन्त्री पत्नी सीता दाहालको आज बिहान ६९ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।