फाइल तस्वीरः क्यानका महानिर्देशक प्रदीप अधिकारी ।


काठमाडौं — नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले अन्ततः मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफ दिनुभएको छ । क्यानका महानिर्देशक अधिकारीले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेर कार्यालय समयको अन्तिममा स्पष्टीकरणको जवाफ दर्ता गराउनुभएको हो ।

मन्त्रिस्तरीय बैठकले महानिर्देशक अधिकारीलाई सातदिने अल्टिमेटम दिएर पहिलो पटक स्पष्टीकरण सोधिएको थियो । असार ११ गते पहिलो पटक सोधिएको नौ बुँदे स्पष्टीकरणको जवाफ नदिएर महानिर्देशक अधिकारीले मन्त्रीको क्षेत्राधिकारभन्दा बाहिर रहेको अभिव्यक्ति सार्वजनिक भएको थियो । अधिकारीले त्यसको जवाफ दिन अस्वीकार गरेपछि असार २१ मा तीन दिने स्पष्टीकरण सोधिएको थियो । मन्त्रालयले पुनः तीन दिनको समयसीमा तोकेर दोस्रो पटक सोधिएको स्पष्टीकरणको जवाफ दिनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार महानिर्देशक अधिकारीले पेश गर्नुभएको स्पष्टीकरणको जवाफको अध्ययन भइरहेको छ । महानिर्देशक अधिकारीले बुझाउनुभएको स्पष्टीकरणमा चित्तबुझ्दो नभए उहाँमाथि थप कारवाही हुनसक्ने बताइएको छ ।

महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए । मन्त्री किरातीले तीन दिने स्पष्टीकरणको जवाफ चित्त नबुझे अधिकारीमाथि थप स्पष्टीकरण सोधिनेछ ।