फाइल तस्वीर
कञ्चनपुर—शारीरिक अस्वस्थ्यताका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिको घरमै पुगेर कृष्णपुर नगरपालिकाका प्रमुख हेमरा ओझा ह्वीलचियरलगायतका सामग्री उपलव्ध गराउन थाल्नुभएको छ । चिकित्सकसहितको टोली लिएर नगरप्रमुख ओझाले नगरपालिकाका नौवटै वडामा रहेका शारीरिक अस्वस्थता भएका व्यक्तिको स्वाथ्य जाँच गराउने, निःशुल्करूपमा औषधि उपलब्ध गराउने कार्यसँगै आवश्यकताका आधारमा ह्वीलचियर र दिसापिसाब गर्न प्रयोग हुने प्लाष्टिकको कुर्सी निःशुल्क उपलव्ध गराउन थालेका हुन् ।

“शारीरिक अस्वस्थता भएका व्यक्तिको पहिचान गरी घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यको थालनी गरेका छौँ” नगरप्रमुख ओझाले भन्नुभयो, “चिकित्सकीय सेवासँगै आवश्यक सहायक सामग्री दिने कार्य भइरहेको छ ।” अहिलेसम्म नगरपालिकाका वडा नं १, २, ८, ९ का आधा दर्जन बढी व्यक्तिलाई सहायक सामग्री उपलब्ध गराइएको उल्लेख गर्नुभयो ।

नगरपालिकाका नौवटै वडाका ३२ शारीरिक अस्वस्थता भएका व्यक्तिलाई सहायक सामग्री र चिकित्सकीय सेवा घरदैलोमै पुगेर उपलब्ध गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो । “ह्वीलचियर दातृ निकायको सहयोगमा निःशुल्क वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “दिसापिसाब गर्नका लागि प्रयुक्त हुने कुर्सी नगरपालिकाको आन्तरिक बजेटबाट खरिद गरी वितरण भइरहेको छ, ह्वीलचियर र कुर्सी आवश्यकता भएका पहिचानमा आएका अन्यलाई पनि वितरण गर्छौँ ।” नगरपालिकाको महिला तथा बालबालिका शाखामा ह्वीलचियर र कुर्सी उपलब्ध गराउनका लागि निवेदन सङ्कलन गर्ने कार्य भइरहेको छ । हालसम्म सहायक सामग्रीका लागि २९ जनाले निवेदन दिएका छन् । शाखामा निवेदन दिने कार्य जारी रहेको छ ।

शारीरिक अस्वस्थताका कारण उपचार पाउन नसकेका व्यक्तिलाई घरमै पुगेर सहायक सामग्रीसहित चिकित्सकीय सेवा उपलब्ध गराउने पहिलो नगरपालिका कृष्णपुर बनेको छ ।

कर्मचारीलाई फिर्ता पठाउने निर्णय

कैलाली र कञ्चनपुरका स्थानीय तहका नगरप्रमुख, अध्यक्षलगायतको समन्वय बैठकले स्वीकृत दरबन्दीभन्दा बाहेकका स्वास्थ्य सेवाका कर्मचारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउने निर्णय गरेको छ । कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम साविक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कैलाली र कञ्चनपुरका स्थानीय तहमा समायोजन, समायोजन संशोधन, सरुवा एवं कामकाजका लागि खटिई रमाना भई आएका हाजिर भई कामकाज गरिहेका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता पठाउने निर्णय गरिएको हो ।

स्वास्थ्य सेवाका कर्मचारीको सङ्घीय सशर्त अनुदानमार्फत उपलब्ध हुँदै आएको तलबभत्ता मन्त्रालयले नपठाउने भएपछि बाध्य भएर यस्तो निर्णय गर्नुपरेको बैठकमा सहभागी शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ देखि स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीको तलबभत्ता दिन नसकिने र स्थानीय तहले आफैँले आवश्यकता हेरी व्यवस्था गर्न भनी मन्त्रालयबाट परिपत्र भई आएको हुँदा स्वीकृत दरबन्दीभन्दा बढी भएका स्वास्थ्यतर्फका कर्मचारीलाई मन्त्रालयमा पठाउने निर्णय गरिएको उहाँको भनाइ छ ।

“स्थानीय तहको आन्तरिक स्रोतले कर्मचारीलाई तलब खुवाउन पुग्दैन”, उहाँले भन्नुभयो, “चालु आवमा समेत तलबभत्ता खुवाउन सकिएको छैन, आवश्यक तलबभत्ताका लागि मन्त्रालयमा पत्राचार गरिसकेका छौँ ।”

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम कैलाली कञ्चनपुर जिल्लाका स्थानीय तहमा अन्य मन्त्रालयबाट खटाई पठाएका स्वीकृत दरबन्दीभन्दा बढी सङ्ख्याका अन्य सेवाका कर्मचारीलई पनि सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरिएको छ ।