फाइल तस्वीर
काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) एसईई २०७९ को नतिजा प्रकाशनका विषयमा निर्णय गर्न आज दिउँसो बोर्डको बैठक बस्ने भएको हो ।

बोर्डको बैठकपछि सम्भवतः आज नै नतिजा सार्वजनिक गरिनेछ । बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेकोले यो वर्ष पनि पुरानै ग्रेडिङ पद्धति अनुसार नतिजा सार्वजनिक गरिने बताइएको छ ।

बोर्डले २०७८ सालमा ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । उक्त निर्देशिका जारी भएको केही महिनापछि पहिलो पटक संशोधन गर्दै सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरेको थियो ।

बोर्डले जारी गरेको ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार एसईईमा ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने व्यवस्था भएता पनि यो वर्ष पुरानै अक्षराङ्कन (ग्रेडिङ) पद्वतिमार्फत् नतिजा प्रकाशन गर्न लागेको हो ।