बुटवल — अविरल वर्षाका कारण बुटवलको तिनाउ नदीमा जल सतहले खतराको तह पार गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तिनाउमा खतराको तहभन्दा ६ दशमलव ९०३ मिटरभन्दा माथि पानी पुगिसकेको छ । महाशाखाले जल सतह बढ्दो क्रममा रहेकोले तिनाउ नदीका तटीय क्षेत्र र जिल्लाका सबै स्थानीय तहहरुलाई यसबारे जानकारी गराउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेको हो ।

बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७ दशमलव २२ मिटर पुगेको छ । महाशाखाका अनुसार जल सतह ५ दशमलव २ मिटरलाई सतर्कता तह मानिन्छ भने ५ दशमलव ६ मिटरलाई खतराको तह मानिन्छ । केन्द्रले बिहान ९ बजेसम्म जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गइसक्न अनुरोध गरेको छ ।

तिनाउ नदीले खतराको तह पार गरे पनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । तिनाउ लगायत रुपन्देहीका अन्य नदीहरूमा पनि पानीको बहाव बढेकाले नदी किनारमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।