फाइल तस्वीर
भरतपुर – देशकै लाइफ लाइन मानिएको नारायणगढ–मुग्लिन सडक खण्ड निरन्तर अवरुद्ध भैरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

पहिरोका कारण दुर्वतर्फका सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् । नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा कतिखेर कहाँ के हुने हो भन्ने सन्त्रासले यात्रुहरु भयभित हुनेगरेका छन् ।

हिजो साँझको पहिरोका कारण एउटा ट्रक पल्टिन पुगेको छ । अहिले सडक दुईतर्फ ठप्प छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङका अनुसार पहिरो गएको स्थानमा ना ६ ख ७१० नम्बरको ट्रक पल्टिंदा ट्रकका चालक सामान्य घाइते छन् । अहिले त्यहाँ पहिरो हटाउने काम सुरु गरिएको छ ।

अहिले पहिरो पन्छाउने र ट्रकलाई उठाउने प्रयार भइरहेको मुग्लिन प्रहरीले जनाएको छ । उक्त स्थानमा पटक–पटक पहिरो खसिरहेका कारण नारायणगढ मुग्लिनको यातायात अवरुद्ध हुँदैआएको छ । आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो । शुक्रबार पनि सो खण्डमा पहिरोका कारण करिब २४ घण्टा नै समय सडक अवरुद्ध हुन पुगेको थियो ।

वर्षाद लागेसँगै यो सडक खण्डमा ठूला ठूला पहिरो जान थालेको छ । दैनिक हजारौं सवारीसाधन आउजाउ गर्ने यो सडकमा सुरक्षाको जोखिम बढ्न थालेको चालकहरु बताउँछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रुले ठूलो समस्या झेल्नु परेको छ प्रहरीको भनाइ छ ।

पटक पटक पहिरो जाने र लामो समयसम्म सडक अवरुद्ध हुन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न समेत अनुरोध गरेको छ । पहिरो पन्छाएर तत्कालका लागि समस्या समाधान त हुन्छ नै, तर सरकारले यस्ता पहिरो जाने उच्च जोखिमका स्थानहरुलाई स्थायीरुपमा कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनु अत्यावश्यक भैसकेको छ ।