फाइल तस्वीरः
काठमाडौं — जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राख्न अनुमति दिनुभएको छ । न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न उनीहरुलाई सात दिन हिरासतमा राख्न अनुमति दिनुभएको हो ।
भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित चार जनालाई अदालतले ७ दिन हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ । ब्यूरोले सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा हिजो मङ्गलबार सात जनलाई पक्राउ गरेको थियो । जसमध्ये यसअघि अदालतबाट नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसी गरी यी तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको छ ।
अदालतले पूर्व आयुक्त सुधीर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतमलाई सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।