फाइल तस्वीरः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत ।

काठमाडौं — सरकारले विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि भोलि बिहीबारदेखि सरकारी अस्पतालमा दुई हजार २८ शय्या निःशुल्क गर्ने भएको छ । स्वास्थय मन्त्री मोहनबहादुर बस्नेतले उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने बताउनुभएको हो ।

स्वास्थ्यमन्त्री बस्नेतका अनुसार कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले चार सय ५० शय्या, ट्रमा सेन्टरले एक सय ५० शय्या र शहीद गङ्गालाल हृदयरोग केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरेका छन् । मन्त्री बस्नेतले अहिलेसम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शय्याको सङ्ख्या दुई हजार २८ पुगेको जानकारी गराउनुभयो ।

उहाँले वीर अस्पतालले सात सय शय्या र कोशी अस्पतालले तीन सय ३० शय्या निःशुल्क उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेको उल्लेख गर्नुहुँदै विस्तारै देशभरका केन्द्रीय अस्पतालमा विपन्नका लागि निःशुल्क शय्या थप्दै जाने र ती शय्यामा उपचार पनि निःशुल्क हुने बताउनुभयो ।

शय्या निःशुल्क गरेपछि अस्पतालमाथि पर्ने आर्थिक भार कम गर्न सम्बन्धित अस्पतालले केही बजेटको व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी काम भइरहेको बताउँदै स्वास्थ्य उपचार पाउनु जनताको संवैधानिक अधिकार भएकाले उक्त निर्णय सबै अस्पतालले कार्यान्वयन गर्नुपर्नेमा मन्त्री बस्नेतको भनाइ थियो ।

निजी अस्पतालहरुले पनि जिम्मेवार भएर नियम अनुसार कूल शय्याको १० प्रतिशत विपन्न, असहायका लागि निःशुल्क शय्या छुट्याउनुपर्ने नियम कडाइका साथ कार्यान्वयन गर्ने दावीसमेत गर्नुभयो ।