तस्वीर : हेटौँडा अस्पताल
मनहरी — आगामी छ महिनाभित्र हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । हेटौँडा अस्पतालले सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरेको हो ।

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरद्वारा आयोजित अङ्गदान र प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले छ महिना भित्र अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मिर्गौला प्रत्यारोपणको तयारीस्वरुप हेटौँडा अस्पतालमा पूर्वाधार निर्माणसँगै आवश्यक उपकरण खरिदको कार्य भइरहेको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले हेटौँडा अस्पताललाई प्रत्यारोपण सेवा सुरु गर्न अनुदानस्वरुप रू नौ करोड उपलब्ध गराएको छ । उक्त रकम उपकरण खरिद र पूर्वाधार निर्माणमा खर्च हुनेछ । प्रदेश सरकारले आगामी वर्ष २०८०र८१ को बजेटमा पनि प्रत्यारोपण सेवा शीर्षकमा रू चार करोड विनियोजन गरेको छ ।

डा सापकोटाका अनुसार हेटौँडा अस्पतालले तीन वर्षदेखि डाइलाइसिस सेवा दिँदै आएको छ । महिनामा ५० जनासम्म मिर्गौलाका बिरामीले डाइलाइसिसका लागि पालो कुर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

डाइलाइसिस गर्न आउने बिरामीका लागि थप १५ डाइलाइसिस मेशिन थप्नुपर्ने आवश्यक रहेको डा सापकोटाले बताउनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीले हेटौँडामा प्रत्यारोपण सेवा सुरु गरेपछि यस कार्यले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो ।