काठमाडौं – काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसको विवाह मण्डपबाट प्रहरीले एक बेहुलालाई पक्राउ गरेको छ । हिजो मङ्गलबार हुन लागेको विवाहमा बेहुला पक्षले दाइजो नपाएसम्म विवाह नगर्ने अडान लिएको कुरा थाहा पाएपछि प्रहरीले विवाह मण्डपबाटै बेहुलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हाल काठमाडौंको ताहाचल बस्दै आएका सुनसरी दुहवी नगरपालिका– ६ का ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । उनीसँग अमेरिकाको ग्रिन कार्ड पनि छ । प्रहरीका अनुसार बेहुला पक्षले बेहुली पक्षबाट ५० लाख रुपैयाँ दाइजो मागेको खुलेको छ । बेहुला पक्षले विवाहका क्रममा आफूहरूले मागे जति दाइजो नपाएको र जन्तीलाई पनि राम्रो स्वागत नगरेको भन्दै ५० लाख रुपैयाँ दाइजो नपाए विवाह रद्द गर्ने अडान लिएका थिए ।
मण्डपमा रहेकी बेहुलीलाई समेत गाली बेइज्जती तथा हातपात भएको प्रहरीले जनाएको छ । विवाह खर्चवापत बेहुला पक्षले पटक–पटक गरी २२ लाख रुपैयाँ लगेको बेहुली पक्षको दाबी छ । आफू अमेरिकी ग्रिनकार्ड प्राप्त व्यक्ति भएको भन्दै बेहुलाले दाइजो मागेका हुन्। उनलाई विवाहसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद लिइएको प्रहरीले जनाएको छ।