फाइल तस्वीरः बालुवाटारस्थित ललिता निवासको जग्गा ।
काठमाडौं — बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा संलग्नमध्ये छ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आज मङ्गलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गरेको हो ।

नेपाल प्रहरीका प्रहरी प्रवक्ता समेत रहनुभएका प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार मालपोत कार्यालय, डिल्ली बजारका पूर्व खरिदार गोपाल कार्कीसहित छ जनालाई पक्राउ गरिसकेको छ ।

प्रहरी नायब महानिरीक्षक कडायतका अनुसार पक्राउ पर्नेमा पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव भुपेन्द्रमणि केसीसहित भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङका साथै सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की रहेकाछन् ।

सरकारी स्वामित्वमा रहेको ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न भएको अरोपमा उनीहरुलाई पक्राउ गरिएको सिआईबीले जनाएको छ ।

विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो । सोही प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ । सिआईबीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानविन समितिले ललिता निवासको जग्गामा सरकारी लिखत कीर्ते भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो ।

उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

ललिता निवास प्रकरणमा यसअघि तीनसय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । यद्यपि, सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै उक्त प्रतिवेदन फाइल फिर्ता पठाएको थियो । ललिता निवास जग्गा प्रकरण केही पार्टीका ठूला नेताहरुको समेत संलग्नता रहेको सार्वजनिक भएको थियो ।

पछिल्लो समय नक्कली भुटानी प्रकरणमा केही पार्टीका ठूला नेता र उनीहरुको संरक्षणरहेका विचौलियाहरु पक्राउ गरी कारागार चलान भैसकेको अवस्थामा सिआईबीले ललिता जग्गा प्रकरणको अनुसन्धानलाई तीव्रता दिएको छ । सोही अनुसन्धानका क्रममा सरकारका उच्च तहका पूर्वकर्मचारीहरु पक्राउ परेका हुन् ।