पोखरा — वर्षाका कारण गए रातीबाट अवरुद्ध रहेको पोखरा वाग्लुङ सडकअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका काँडे नजिक पाउदुर खण्डमा बन्द भएको सडक १३ घण्टापछि आंशिक रूपमा खुलेको छ । सडक अवरुद्ध भएकाले दर्जनौँ सवारीसाधन अलपत्र भएका छन् भने हजारौँ यात्रुले सास्ती भोगेका छन् ।

चार वर्षअगाडि भासिएको सो सडक निर्माण कम्पनीले काम थालनी गरेकोमा समयमै सम्पन्न नगर्दा सो अवस्थामा आएको हो । जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख कृष्णबहादुर चन्दले सडक अझैसम्म पूर्ण रूपमा सञ्चालन हुन नसकेको बताउनुभयो उहाँले भन्नुभयो, यस्तो अवस्था आउँछ भनेर दुई महिनाबाटै निर्माण कम्पनीलाई भन्दै आएका हौँ, तर सुनुवाइ भएन ।

यस बारेमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले फिल्ड निरीक्षण गरी आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।