तस्वीरः रासस
ओखलढुङ्गा — ओखलढुङ्गामा अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । घटनामा परी एक बालक बेपत्ता भएका छन् । गएराति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनका २९ वर्षीया श्रीमती शिवमाया र १८ महिनाकी छोरी कृतिकाको मृत्यु भएको हो। गुरुङका १० वर्षीय छोरा दिनेश पहिरामा परी बेपत्ता भएका छन्।
बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पुरिएका छन् ।
ती दुई घरमा बस्नेले भने भागेर ज्यान जोगाएको बताइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन्। पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन । रासस