धनगढी — जिप दुर्घटनामा परि निधन हुनुभएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमालाई विभिन्न राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । आज बुधबार धनगढीस्थित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।


सिंहको पार्थिव शरीरमा मुख्यममन्त्री कमलबहादुर शाह, प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यहरु, राजनीतिक दलका प्रदेश तथा जिल्ला स्तरका नेता, धनगढीका मेयर गोपाल हमाल लगायतले राष्ट्रिय झण्डा ओडाएर पुष्पगुच्चासहित श्रद्धाञ्जली अर्पण गर्नुभयो ।


मन्त्री सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिइसके पश्चात् उहाँको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि हेलिकोप्टरमार्फत बझाङ लगिने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।