काठमाडौं — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा विद्युत निर्यात गरेका कारण लोडसेडिङ नभएको बताउनुभएको छ । कार्यकारी निर्देशक घिसिङले वितरण प्रणालीमा समस्या आएकोले मध्य र पश्चिम नेपालमा विद्युत आउने जाने गरेको बताउनुभएको हो ।
आज आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा समस्या आएको भन्दै तराई मधेसमा धेरै गर्मी भएकाले विद्युत खपत बढ्दा पनि ट्रान्समिसन लाइनमा समस्या आएको बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “यहाँ बत्ती अफ गरेर निर्यात गरेको होइन, पिक टाइम बाहेक अरु बेला आपूर्ति बढी नै छ, त्यो निर्यात नै गर्नुपर्छ । निर्यात गरेन भने खेर जान्छ र त्यसको मूल्य हामी (विद्युत प्राधिकरण) ले तिर्नुपर्छ ।’
उहाँले नेपालमा उत्पादन भएर यहाँ खपत नभएको विद्युत मात्र निर्यात गर्ने गरिएको बताउनुभयो ।