काठमाडौं — तीन दल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच औपचारिक रूपमा ‘समाजवादी मोर्चा’ घोषणा गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार बिहान बसेको बैठकबाट नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपाका नेताबीच भोलि सोमबार समाजवादी मोर्चा घोषणा गर्ने सहमति भएको हो ।
माओवादी केन्द्रका कार्यालय प्रमुख श्रीराम ढकालले कार्यदलस्तरमा समाजवादीको घोषणापत्र तयार भएसँगै भोलि सोमबार राजधानीको राष्ट्रिय सभागृहमा अपराह्न ३ बजे औपचारिक कार्यक्रम गरेर मोर्चा घोषणा गर्न लागिएको हो ।
समाजवादी मोर्चाका लागि यसअघि तीन दलका तर्फबाट नेताहरू कृष्णबहादुर महरा, राजेन्द्र श्रेष्ठ र प्रमेश हमाललगायत दस्ताबेज तयारीमा जुट्नुभएको थियो । आज आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसहित चार दलका शीर्ष नेताबीच बालुवाटारमा बसेको बैठकले ‘समाजवादी मोर्चा’ घोषणा गर्ने सहमति गरेको हो ।