फाइल तस्वीरः मेयर बालेन्द्र साह ।
काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणले काडमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तारजाली काटेको भन्दै महानगरपालिकाका मेयर बालेन्द्र साहलगायत तीन जनालाई स्पष्टीकरण सोधेको छ । काठमाडौं महानगर प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तारजाली काटेको विषयमा मेयर साहलाई स्पष्टीकरण सोधिएको हो ।
सिनामङलस्थित विमानस्थल क्षेत्रमा पर्ने फेन्सिङ तारजाली काटेको विषयमा प्राधिकरणले मेयर बालेनसहित महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणले सात दिनभित्र लिखित स्पष्टीकरण दिन अल्टिमेटम लिएको छ । मेयरसहित तीन जनाको स्पष्टीकरण चित्तबुझ्दो नआए उनीहरुलाई उडानमा प्रतिबन्ध लगाउन सकिने प्राधिकरणले बताएको छ ।
महानगरको नगर प्रहरी टोलीले बिहीबार विमानस्थलको तारजाली काटिदिएको थियो । कुनै पूर्वजानकारी र सूचना नदिई तारजाली काट्ने कार्य कानूनविपरीत रहेको प्राधिकरणको भनाइ छ ।