तस्वीरः हुलाकी सडक ।
कञ्चरपुर — कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको काम ३० महिनामा सक्नुपर्ने साढे छ वर्ष बित्न लाग्दा पनि उस्तै छ । कञ्चनपुरको पूर्व क्षेत्रमा पर्ने डोकेबजारबाट बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक विसं २०७३ फागुनमा सम्झौता भएर निर्माण सुरु भएको थियो । निर्माणाधीन योजनाअन्तर्गतको दोस्रो र तेस्रो चरण(प्याकेज)को काम अझै सकिएको छैन ।
हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर दीपक सुनारले कुल ६२ किलोमिटर सडकमध्ये २५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताउनुभयो । “पहिलो प्याकेज सकिए पनि दोस्रो र तेस्रो प्याकेजको काम अझै बाँकी छ”, उहाँले भन्नुभयो, “बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो प्याकेजको २० किलोमिटरमा साढे नौ किलोमिटर मात्रै कालोपत्र भएको छ ।”
इन्जिनियर सुनारले कार्यालयबाट दोस्रो प्याकेजको ठेक्का बदर गर्ने चरणमा पुगिसकेको बताउनुभयो । “उक्त प्याकेजको लागत रू ४१ करोड ४१ लाख छ”, उहाँले भन्नुभयो, “त्यसमा ५० प्रतिशतमात्रै काम निर्माण कम्पनी बाबा हंस–सिद्धीसाई जेभीले गरेको छ ।” उहाँले पाँचौँपटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न नगरेको बताउनुभयो ।
“दोस्रो र तेस्रो प्याकेजको अवधि अब एक महिनामात्रै बाँकी छ”, सुनारले भन्नुभयो, “लगातार ताकेता गर्दैछौँ । समयमा निर्माण सम्पन्न नगरे बदरको प्रक्रियामा जाने चेतावनीसमेत दिइसकेका छौँ ।”
हुलाकी सडकको ६२ किलोमिटर सडक तीन प्याकेजमा ठेक्का दिएर काम थालिएको थियो । पहिलो प्याकेजअन्र्गत डोकेबजारबाट बेलौरीसम्मको २० किलोमिटर सडक निर्माणका लागि शर्मा–राजेन्द्र जेभी कम्पनीले रू ३६ करोड ४७ लाखमा सम्झौता गरेको थियो ।
दोस्रो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न असहमति जनाउँदै आएको छ । त्यस्तै, हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटर सडकमध्ये नौ किलोमिटर मात्रै कालोपत्र भएको इन्जिनियर सुनारले जानकारी दिनुभयो । “निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्रै कार्य पूरा नगर्दा सडक निर्माणको कार्य निकै ढिलाइ भएको हो”, उहाँले भन्नुभयो ।