प्रतिकात्मक तस्वीर

दोधारा चाँदनी — कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका नौ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले भन्नुभयो, “ नौ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौँ, उनीहरुमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ ।” 

पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन् ।