तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड।
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली अन्य विपक्षी दलहरुले संसद्मा उभिएर लोकतान्त्रिक मूल्य मान्यता ध्वस्त पार्न खोजिरहेको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज बुधबार बिहान माओवादी निकट प्रेस सेन्टरका पदाधिकारीहरुसँगको भेटमा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले आफु नेतृत्वको सरकारले पछिल्लो छ महिनामा सुरुदेखि जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा रहेका नेपालीका समस्यालाई सम्बोधन गर्ने, बेथिति रोक्नेदेखि हालै भएको भारत भ्रमणका क्रममा विभिन्न विद्युत सम्झौता, सीमाको विषयमा समेत महत्वपूर्ण छलफल गरेको जानकारी गराउनुभयो । आफुले निकै अप्ठ्यारो अवस्थामा यी सबै प्रयास गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले त्यसलाई जनतासम्म बुझाउन नसकिएको चर्चा गर्नुभयो ।

सरकारले गरेका राम्रा कामहरुलाई जनतासमक्ष पुर्याउने अङ्ग भनेको सञ्चार जगत हो, तर अपेक्षित रुपमा सञ्चार जगतले सरकारले गरेका राम्रा कामहरुको बारेमा समाचार सम्प्रेषण नगरेको प्रति दुःख प्रकट गर्नुभयो ।

प्रधानमन्त्रीले सदनमा आफु एक्लो भएको महशुस गरेको बताउनुहुँदै निकै ठूलो अप्ठ्यारो र घेराबन्दीबीचमा पनि देश र जनताको हितमा काम गरेको उल्लेख गर्नुभयो । प्रेस सेन्टरका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले ’जतिबेलै वन मेन आर्मी जस्तो हुनुपरेको छ, अरुले सकेसम्म भाँड्ने प्रयास गरेको देखिन्छ,’ प्रधानमनत्रत्र ’ओलीहरू देख्नुभयो नि ! लोकतन्त्रको मूल्य मान्यता ध्वस्त पारेर– म मञ्चमा बोलिराखेको छु, हरेक कुराको जवाफ दिन्छु भनिराखेको छु, बोल्नै नदिने भनेर तलका मान्छेलाई बोल्न दिने कुरा भयो सभामुखबाट । हुँदै नहुने कुरो थियो नि !’ — भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको प्रसङ्ग उठाउँदै ‘प्रधानमन्त्रीले बोलेपछि तुरुन्तै प्रतिपक्षले बोल्न उनीहरूले नै हुन्न भन्ने गरेकोमा अहिले मिल्दै नमिल्ने कुरा जबर्जस्ती गरेको’ बताउनुभयो । आफूले बोलिसकेपछि प्रक्रियागत रूपमा विरोध र प्रतिवाद गर्ने कुरा हुने भए पनि बोल्दाबोल्दै आफूलाई अपमानित गरिएको प्रधानमन्त्रीको भनाई थियो ।